हिमालको फेदमा गल्फ प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको लोमान्थाङको गल्फ कोर्षमा दोस्रो गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा चार हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा भदौ ३० गते प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता वारे जानकारी दिएको हो । मुस्ताङ गल्फ कोर्षसंगको सहकार्यमा लोमान्थाङ गाउँपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

मुस्ताङ गल्फ कोर्षका अध्यक्ष इन्द्रधारा विष्टले पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने देखेर लोमान्थाङको गल्फ कोर्षको डिजाइन गरिएको र दोस्रो पटक प्रतियोगिता गर्न लागिएको बताए ।

प्रतियोगिता तीन बाई चार स्टेबलफोर्ड फर्म्याटमा कुल नौ ‘होल’मा खेलाइनेछ । पहिलोपटक आयोजना भएको प्रतियोगिता सफल भएसगै दोस्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको विष्टले बताए ।

प्रतियोगितामा काठमाडौँ, पोखरा र बुटवलबाट ४ महिला सहित ४० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । विजेताले ट्रफी प्राप्त गर्ने छ। ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकको दावी अनुसार लोमान्थाङको गल्फ कोर्ष विश्वको सबै भन्दा उच्च स्थानमा रहेको छ । भारतको पूर्वी सिक्मिको कुपुपमा रहेको गल्फ कोर्ष विश्वको अग्लो स्थानमा रहेको कोर्षको रुपमा परिचित रहेको थियो । जसको उचाई ३ हजार ९७० मिटर रहेको छ । लोमान्थाङमा चार हजार ६ सय ३५ मिटर उचाइमा रहेको गल्फ कोर्षलाई गिनिज वर्ल्ड रेकर्ड्स राख्ने आयोजकको तयारी रहेको छ ।

  • २० भाद्र २०८०, बुधबार १७:०९ प्रकाशित