काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने समय तालिका तोकिएको थियो ।
बोर्डले विशेष कारणवश परीक्षाको समय तालिका संशोधन गर्नुपरेको जनाएको छ । साउन ३० गते प्रकाशित कक्षा १२ को नतिजाअनुसार १ लाख २३ हजार ३ सय विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।
ग्रेडवृद्धि परीक्षा दिन भाद्र २२ गते सम्म र दोब्बर दस्तुर बुझाएर २९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । त्यसका लागि विद्यार्थीले आफूले पढेको विद्यालयसँग समन्वय गर्न सक्नेछन् । यसवर्ष कक्षा १२ को परीक्षा दिएका कुल विद्यार्थीमध्ये ५१।९१ प्रतिशत मात्रैले स्नातक पढ्न पाउने भएका थिए । ४९ प्रतिशत उच्च शिक्षा पढ्न अस्वीकृत भएका छन् ।
गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनालाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको थियो ।
१ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत नन्ग्रेडिङ ९एनजी० मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका थिए । ती विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गरे उच्च शिक्षामा भर्ना हुने बाटो उनीहरूलाई यसपालि नै खुल्नेछ । असोजमा ग्रेड वृद्धि दिन पाउनेमध्ये ७९ हजार जना एउटामात्रै विषयमा एनजीमा परेका छन् ।