काठमाडौं ।
भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ ।
तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएपछि भारतविरुद्धको खेलमा नेपाल गर या मरको स्थितिमा छ । समूह चरण पार गर्न नेपालले भारतलाई जित्नैपर्ने दबाब छ । भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
यस समूहमा भारत र बंगलादेशको समान ३ अंक छ । बंगलादेशले दुवै खेल खेलिसकेको छ । यदि नेपालले भारतलाई हराएको अवस्थामा भने तीनवटै टोलीको समान अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।