एमाले लुम्बिनी अध्यक्षमा कँडेल निर्वाचित, कस्ले कति मत ल्याए ?

केन्द्रभाग मिडिया

रुपन्देही ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । एमाले लुम्बिनीको पहिलो अधिवेशनबाट मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा कँडेल विजयी भएका हुन् ।

हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गरे । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको हो ।

यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् ।

उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।

महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् ।मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

विजयी उम्मेदारहरुलाई आज बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् ।

  • २० भाद्र २०८०, बुधबार ०६:४८ प्रकाशित