एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु

केन्द्रभाग मिडिया

बुटवल ।

सर्वसहमतिमा नेतृत्व छनोट असम्भव भएपछि नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।

रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।
अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि सफल नभएपछि निर्वाचनबाटै नेतृत्व छान्ने भएको हो ।

लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । अब अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरु निर्वाचनबाट चुनिने छन् । निर्वाचनले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

  • १९ भाद्र २०८०, मंगलवार ०९:०८ प्रकाशित