नेपाली क्रिकेट समर्थकलाई प्रशिक्षक देसाईको सन्देश : ‘धैर्य गर्नुहोस्’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेट समर्थकलाई धैर्य गर्न आग्रह गरेका छन् । एसिया कप क्रिकेटमा भारतसँगको खेल अघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले समर्थकलाई धैर्य गर्न आग्रह गरेका हुन् । प्रशिक्षक देसाईले ठूला र स्थापित राष्ट्रसँग नेपालले खेल्दै गर्दा धैर्य गरेर समर्थन गर्न समर्थकलाई अपिल गरेका हुन् ।

‘धैर्य गर्नुस् भन्न चाहन्छु । हामी सिमित स्रोत साधनको साथमा यी खेलाडीलाई यहाँसम्म ल्याउनु आफैंमा सकरात्मक पक्ष हो । हामीमाथि समर्थकको धेरै ठूलो अपेक्षा छ । राष्ट्रको र हामी आफैंको पनि अपेक्षा हुन्छ । त्यो अपेक्षालाई सम्हाल्न गाह्रो हुन्छ ।’

‘हामी प्रोसेसमा विश्वास गरेर हामी अझै धेरै पटक क्वालिफाइ गछौं ताकि यस्ता अवसरहरु आइरहुन् । हामी पनि ठूला राष्ट्रहरु जस्तै खेल्न सकूँ । ठूला व्यवस्थित राष्ट्रहरुसँग क्रिकेट खेल्दा प्रेसरमा खेल्न हामी सिक्छौं । हामीले हरेक पटक यी कुराहरु सिकेर जाँदैछौं ।’

देसाईले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग एकै खालको रणनीति अपनाउनु पर्ने बताएका छन् ।स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसि रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् ।

ओमान, यूएई, कुवेतसहितका टिम सहभागी काठमाडौंमा भएको एसीसी प्रिमियर कप जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । देसाईकै प्रशिक्षणमा प्रिमियर कप जितेको नेपाल विश्वकप छनोटमा समेत छानिएको थियो ।

उनले पछिल्लो ८ महिनायता नेपाली टिमलाई वान बल ब्याटलको अवधारणामा क्रिकेट खेलाइरहेका छन् ।भारतसँगको खेल अहिले दिउँसो नेपाली समय अनुसार ३ : १५ मा सुरु हुदैंँछ ।

  • १८ भाद्र २०८०, सोमबार १४:२९ प्रकाशित