कागबेनी ।
मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ ।
अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरेको हो ।
बाढीबाट प्रभावित भएका ती परिवारलाई अनन्त विभूषित मुुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले राहत वितरण गरेका थिए । उनले गत हप्तामात्र पोखरामा पत्रकार सम्मेलन गरी कागबेनीमा अप्रत्याशितरुपमा आएको बाढीबाट ठूलो क्षति पुगेको र कैयौँ पीडित भएकाले उनीहरुलाई आवश्यक सहयोग गर्न नेपाल सरकार र उसका निकाय एवं स्थानीय सरकार तथा व्यक्तिलाई आग्रह गरेका थिए ।
पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडासहित तत्काल आवश्यक पर्ने भाँडाकुँडा र अन्य सामग्रीसँगै प्रतिपरिवार १० हजार उपलब्ध गराइएको विश्वशान्ति गण्डकी महासभाका प्रवक्ता आचार्य सुदर्शन बडालले जानकारी दिए ।
सो बाढीले यहाँका कम्तीमा पनि २९ घरपरिवारलाई पूर्णरुपमा क्षति पु¥याएकाले तत्कालका लागि केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर उनीहरुलाई यी अत्यावश्यकीय सामग्री प्रदान गरिएको उनले बडालले जानकारी दिए ।
राहत वितरण समारोहमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगोल गुरुङका साथै सो गाउँपालिकाका उपाध्यक्ष, वडा नं ४ का अध्यक्षसहितका जनप्रतिनिधि उपस्थित थिए ।














