एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन खुल्यो

केन्द्रभाग मिडिया

File photo

म्याग्दी ।

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र(लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन खुलेको छ ।

म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर आवेदन खुला गरिएको हो । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि बि, सि, इ, एफ र जि वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए।

बागलुङमा हाल ए, र के, वर्ग (दुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए ।

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन हुँदै आएको छ ।

  • १८ भाद्र २०८०, सोमबार ०९:३७ प्रकाशित