एसिया कप

नेपालले आज भारतको सामना गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज(सोमबार) बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ । उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको राष्ट्र हो ।

नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

  • १८ भाद्र २०८०, सोमबार ०९:१८ प्रकाशित