गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • १७ भाद्र २०८०, आईतवार ०७:३४ प्रकाशित