पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान कास्कीमा सुरु भएको छ । जिल्लाका पाँच पालिकाका ७२ वटै वडामा आज अभियान उत्साहपूर्ण रुपमा उद्घाटन गरिएको माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले बताए ।
उनका अनुसार अभियानमा पार्टीका नेता, कार्यकर्ता सहित जनताको समेत सहभागिता थियो । उद्घाटन समारोहमा विभिन्न सास्कृतिक प्रस्तुतीले उल्लासमय बनाएको थियो । पोखरा महानगरपालिका, रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकाका सबै वडामा अभियान सुरु भएको र निरन्तर रुपमा आगामी १५ मंसिरसम्म सञ्चालन हुने जिल्ला इन्चार्ज अधिकारीले बताए ।
उनले भने, ‘कास्कीका सबै वडाहरुमा आज अभियान सुरु भयो । अध्यक्ष कमरेडको मन्तव्य सुनेर नयाँ उर्जा सहित नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारीमा खटिनुभएको छ ।’ अभियानका क्रममा जनतासँग भेटघाट गर्ने, संगठन विस्तार, सुझाव संकलन, पार्टी प्रवेश लगायतका कार्यक्रम सञ्चालन गरिने माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले बताए । उनका अनुसार अभियानमा सरकारले गरेका कार्यहरुका बारेमा जनतालाई जानकारी दिने र विकास निर्माण लगायतका जनताका आवश्यकता र समस्याहरु टिपोट गरी सरकारसम्म पु¥याइनेछ ।
त्यसैगरी पोखरा महानगरको इन्चार्जमा पारशमणि पौडेल सहित नेताहरु देवेन्द्र पराजुली, झलकपाणि तिवारी, अतिन्द्र केशरी न्यौपाने,लोकप्रसाद भुर्तेल, निरमाया श्रीस,रामराज रेग्मी, कोमलनाथ बराल र ताराप्रसाद भुसाल खट्टिएका छन् । रुपा गाउँपालिकामा सतिमाया तामाङ, मादीमा धना गुरुङ र अन्नपूर्ण गाउँपालिकामा परशुराम रम्तेल अभियानको नेतृत्व गरी खट्टिएका माओवादी केन्द्रले जनाएको छ ।













