‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्रले तीन महिनासम्म चल्ने बताएको यो अभियानको अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान उद्घाटन गरेका हुन्।

माओवादी केन्द्रले देशका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक अभियानको उद्घाटन गरेको हो । ‘जनजनमा माओवादी, मनमनमा माओवादी’को नारासहित हरेक गाउँबस्ती र जनताको घर घरमा पुग्ने लक्ष्यसहित अभियान सुरु गरेको हो । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने गरी माओवादीले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो ।

सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको पनि माओवादी केन्द्रले दाबी गरेको छ। अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्‍याउने गरी पार्टी र जनवर्गीय संगठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।

  • १६ भाद्र २०८०, शनिबार १४:४८ प्रकाशित