पोखरामा उद्योगी व्यवसायीसंग विप्लव

‘खानकै लागि चन्दा माग्न छाड्यौं, तीन वर्षमा पार्टी चलाउन चन्दा माग्दैनौं’

पार्टी राजनीति र श्रमलाई संगसंगै जोड्नुपर्छ , समय र श्रमलाई सञ्चित गर्न नसकिने भएकाले जसले यसको उपयोग गर्छ उसैले अगाडि बढ्छ

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अबको तीन वर्षमा आफ्नो पार्टी आत्मनिर्भर हुने र पार्टी सञ्चालनका लागि चन्दा माग्न नपर्ने अवस्थामा पुग्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार साँझ गरेको स्वागत एवं छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पार्टीका नेता कार्यकर्ता श्रममा जोडिएको भन्दै उनले आफूहरुले जनतासंग जग्गा भाडामा लिएर खेती गरिरहेको जानकारी दिए । जसका कारण विगत दुई वर्षदेखि खानकै लागि जनतासंग चन्दा माग्नुपर्ने अवस्थाको अन्त्य भएको उनको दावी छ । उनले अहिले आफूहरसंग ११० विघा जग्गा आफूहरुसंग रहेको र त्यसैमा खेती गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार यसवर्ष नेकपाका नेता कार्यकर्ताले यसरी लिएको जमिनमा एक सय क्विइन्टल आलु फलाएको समेत जानकारी दिए । १५ सय विरुवा कागती तथा सुन्तला, ५ सय विरुवा स्याउका विरुवा लगाएको जानकारी दिए ।

पोखराको उद्योगी व्यवसायीलाई उनले संघर्षमा साथ दिन आग्रह गर्दै अबको तीन वर्षमा आफू चन्दा नलिने ठाउँमा पुग्ने जानकारी गराएका हुन् । पार्टी चलाउनका लागि चन्दा माग्ने कुरा गलत रहेको उनको भनाई छ । ‘हामीले विगत दुई वर्ष देखि जनतासंग खानकै लागि चन्दा लिएका छैनौं । अबको तीन वर्षमा पार्टी चलाउनकै लागि कुनैपनि प्रकारको चन्दा लिनुनपर्ने ठाउँमा पुग्छौं ।’ उनले व्यवसायीलाई भने, ‘हामीलाई संघर्षको बेला साथ दिनुहोस् । पार्टी चलाउनकै लागि चन्दा लिने कुरा गलत हो ।’

महाचिव विप्लवले २४ घण्टा राजनीतिमा जोडिन नपर्ने भन्दै त्यसको दुई घण्टा मात्र श्रममा जोडिएपनि उपलब्धि हुने सुनाए । श्रम र राजनीतिलाई जोडनुपर्नेमा जोड दिएका उनले श्रम र समय सञ्चित गरेर राख्न नमिल्ने धारणा राखे । जसले समय र श्रमलाई उपयोग गर्छ उही अगाडि बढ्न सक्ने उनको भनाई छ । ‘पार्टी राजनीति र श्रमलाई संगसंगै जोड्नुपर्छ । समय र श्रमलाई सञ्चित गर्न नसकिने भएकाले जसले यसको उपयोग गर्छ उसैले अगाडि बढ्ने हो’ उनले भने ।

उद्योगी व्यवसायीहरुलाई पार्टीमा विभक्त नहुन आग्रह गर्दै उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि साझा धारणा आउनुपर्ने बताए । उद्याम गर्ने व्यक्तिले मन्त्री र पार्टीका अमुक व्यक्तिलाई पैसा किन दिनुपर्ने भन्दै प्रश्न गरेका उनले ‘तरपनि व्यवसायीहरुले मन्त्री र अमुक राजनीतिज्ञलाई बिटाका बिटा बुझाउने गरेको सत्य हो’ भनेका छन् ।

जीवनभर संघर्ष गरेका राजनीतिज्ञलाई ठाउँमा पुगेपछि भ्रष्टाचार गर्नैपर्ने प्रवृत्ति मौलाउनुमा उनले आर्थिक चेतनाको कमि भएको रुपमा अथ्र्याएका छन् । ‘जीवनभर जेलमा बसेर राजनीति गरेको छ । संघर्ष गरेको छ । उसले मन्त्री भएपछि भ्रष्टाचार गर्नै पर्ने किन ? उसलाई सुबिधा नभएर त पक्कै होइन नी ।’ उनले भने, ‘उसलाई पनि आर्थिक चेतनाको कमी भयो । बुझाउन सकिएन ।’

महासचिव विप्लवले पोखरा विमानस्थलमा दैनिक १०/२० वटा मात्र अन्तर्राष्ट्रिय फ्लाईटमात्र उडाउन सके पोखरा र यस आसपासको अर्थतन्त्रमा चलायमान आउने धारणा राखे । उनले पोखरा विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनमा आउन नसक्नुमा कुटनैतिक असफलता नै प्रमुख कारण रहेको खुलाए ।

सहि कुटनीतिको माध्यमबाट नै यि विमानस्थल सञ्चालनमा ल्याउन सकिने उनको भनाई छ । पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरसंग जोड्ने विषयमा प्रधानमन्त्रीको आसन्त चीन भ्रमणका क्रममा केही सकारात्मक नतिजा आउने समेत अपेक्षा गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वा अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई पार्टीले हेर्ने दृष्टिकोण र नीति प्रष्ट हुनुपर्ने बताए । निजी क्षेत्र अहिलेपनि भयभित अवस्थामा रहेकाले भयभित निजी क्षेत्रका लागि लगानीको वातावरण नरहेको उनको भनाई थियो ।

वातावरण निर्माण गर्ने दायित्व सरकार र राजनीतिक दलहरुको रहेको धारणा राख्दै उनले सरकारमा सहभागी दलहरुसंग समेत मोर्चा गरेकाले विप्लवले समस्याको गाँठो फुकाउन पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, उपाध्यक्ष उत्तममान बुद्धाचार्य र सहभागी विभिन्न उद्योगी व्यवसायी संस्थाका अध्यक्ष एवं प्रतिनिधिले जिज्ञासा राखेका थिए ।

 

  • १५ भाद्र २०८०, शुक्रबार २०:५७ प्रकाशित