समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट छौं : माधव नेपाल

जसपा अध्यक्ष उपेन्द्र यादव पहिला कम्युनिष्ट रहेका र अब पनि कम्युनिष्ट नै बन्ने दाबी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट रहेको बताएका छन् । पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्र, आफूहरु (नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिष्ट रहेको भन्दै उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी समेत निकट भविष्यमै कम्युनिष्ट पार्टी बन्ने बताए । ‘हामी कम्युनिष्ट नै कम्युनिष्ट छौं । नेकपा माओवादी कम्युनिष्ट भइहाल्यो, नेकपा समाजवादी कम्युनिष्ट भइहाल्यो, विप्लवजी कम्युनिष्ट नै हुनुहुन्छ । उपेन्द्रजी पहिला कम्युनिष्ट नै हुनुहुन्थ्यो । अव भविष्यमा पनि उहाँ कम्युनिष्ट नै बन्नुहुनेछ ।’ उनले भने, ‘समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट छौं । देशभक्त प्रगतिशिल र समाजवादीहरुको मोर्चा हो यो ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चा बन्दा एकथरी मान्छेको पसिना छुटेको टिप्पणी गरे । उनले उनीहरुले मोर्चाको विषयमा विभिन्न भ्रम सृजना गर्न खोजेको आरोप लगाए । पार्टीहरु एक अर्कामा विलय हुनेसम्मका हल्ला चलाइएको उनले टिप्पणी गरे ।

उनले मोर्चाका अतिरिक्त सबै पाटीहरु आ–आफ्ना गतिविधि गर्न स्वतन्त्र रहेको धारणा राखे । ‘एकथरी मान्छेहरुले समाजवादी मोर्चा गठन भएपछि पसिना छुटाएका छन् । उनीहरु पसिनामै डुबेपनि डुबुन्’ उनले भने, ‘यो मोर्चा अगाडि बढ्यो । एक अर्कामा पार्टी विलय हुन्छन् भन्ने हल्ला चलाएका छन् । हाम्रै पार्टीमा पनि त्यसखालका संका गरिएका छन् । सबै पार्टीका अलग अलग पहिचान छन् । अलग अलग ढंगले पनि संगठन विस्ता हुन्छन् । जनतालाई एकाकार गर्ने काम हुन्छन् ।’

अध्यक्ष नेपालले क्षमता भएकाहरुलाई मोर्चामा अगाडि बढ्ने वातावरण दिनुपर्ने बताए । एक अर्का पार्टीप्रति मित्रभाव राख्ने र क्षमता पहिचान गर्दै अवसर दिने काम गरिने उनको भनाई छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले त्याग्नुपर्ने उनको धारणा थियो ।

 

  • १५ भाद्र २०८०, शुक्रबार १८:१० प्रकाशित