माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको छ : विप्लव

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको दाबी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधनको क्रममा विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप लगाइरहेको भन्दै आपत्ति जनाउँदै सो दाबी गरेका हुन् ।

उनले नेपालमा माओवादीहरू फेल भएको प्रचारबाजी व्यापक हुँदै गएको बताए।

‘नेपालमा समाजवाद सम्भव छैन, कम्युनिस्टहरु फेल खाए, माओवादीहरु फेल खाए, यो खालको असफल भए भनेर प्रचार व्यापक गरिँदैछ,’ उनले भने, ‘अहिले प्रचण्ड देशको प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ। उहाँले देशको नेतृत्व गरिरहनुभएको छ। तर, उहाँलाई अहिले हत्याराको आरोप लगाइएको छ। बजारमा, चोक चोकमा त्यो प्रचार चलिरहेको छ।’

साथै, उनले माओवादी आन्दोलनको विरुद्धमा ठूलो समूह लागेको दाबी गरे। ‘म भन्न चाहन्छु, माओवादीहरू फुट्न मात्र होइन, जुट्न पनि जानेका छन्। इतिहासको हेक्का राख्नुपर्छ,’ विप्लवले भने।

  • १५ भाद्र २०८०, शुक्रबार १६:४७ प्रकाशित