ललिता निवास प्रकरणमा माधवजी निर्दोष सावित हुनुभयो : प्रचण्ड

नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको दाबी, हाम्रै नेताहरुको नाम प्रतिवेदनमा उल्लेख गर्ने तर पक्राउ पनि नगर्ने र अनुसन्धान पनि नगर्ने गर्दा शंका पैदा भयो

केन्द्रभाग मिडिया

तस्बिर : प्रदीपराज वन्त

पोखरा ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भइसकेको बताएका छन् । पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको पनि दाबी गरे।

‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन् । तर उहाँ निर्दोष हुनुहुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो।’

उनले अब माधव नेपालमाथि कुनै षड्यन्त्र नहुने पनि बताए। ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन । उहाँले सफाइ पाइसक्नु भयो’, उनले भने, ‘सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई कसैले तर्साउन सक्दैन ।’

भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न भनेको बताए । प्रधानमन्त्री प्रचण्डले माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुनिएको तर, आफूले यसरी जोडिएको भए सबैलाई समात्न भनेको बताए । ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु’ उनले भने ।

उनले दोषी नसमात्ने र अनुसन्धान पनि नगर्ने तर, प्रतिवेदनमा उल्लेख गर्ने कार्यले संका पैदा भएको बताए । आफ्नै पार्टीका नेता जोडिएको सन्दर्भमा उनले भने, ‘सीआइबीले हाम्रै नेताहरुको नाम प्रतिवेदनमा उल्लेख गर्ने तर पक्राउ पनि नगर्ने र अनुसन्धान पनि नगर्ने गर्दा शंका पैदा भयो, हाम्रै नेताहरुको नाम प्रतिवेदनमा उल्लेख गर्ने तर पक्राउ पनि नगर्ने र अनुसन्धान पनि नगर्ने गर्दा शंका पैदा भयो । दोषी छ भने जो भएपनि समात्नुस भनेको छु ।  निर्दोष नफसोस् भनेको छु ।’

 

  • १५ भाद्र २०८०, शुक्रबार १६:४५ प्रकाशित