पोखरामा आज सन्देश सभा गर्दै समाजवादी मोर्चा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

समाजवादी मोर्चा नेपालको सन्देश सभा आज (शुक्रबार) पोखरामा हुने भएको छ । मध्याहन्न १२ः०० बजे पोखरा सभागृहमा हुने सन्देश सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने कार्यक्रम छ ।

समाजवादी मोर्चाले गण्डकी प्रदेशको राजधानी पोखरामा गर्न लागेको यो सन्देश सभा चौथो सन्देश सभा हो । यसअघि मोर्चाले मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा सम्पन्न गरिसकेको छ ।

सन्देश सभाको सबै तयारी पुरा भएको नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए । मोर्चामा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चाका सदस्य छन् । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् ।

  • १५ भाद्र २०८०, शुक्रबार ०७:२० प्रकाशित