कांग्रेसलाई बिझाउने प्रचण्डको भाषण : ‘हेरौं त, राम्रो काम गर्दागर्दै मलाई कसले हटाउँदो रहेछ’

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा नयाँ लडाईँ सुरु गरिएकोले अब उक्त लडाईं नरोकिने स्पष्ट पारेका छन्। सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा समाजवाद निर्माणको लागि अभियानको रुपमा भ्रष्टाचारविरोधी कदम अघि बढ्ने उनको दाबी छ ।

आज कर्णाली प्रदेशको विरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले समाजवादी मोर्चाको बारेमा विभिन्न भ्रम छर्ने कोशिस भएको बताए । उनले भने,‘हाम्रो विरुद्धमा विभिन्न भ्रम छर्ने धेरै कोशिस गरिएको छ । अब गठबन्धन र यो मोर्चा आफ्नो लक्ष्यप्रति निरन्तर अघि बढेके छ । हामी सफल हुन्छौं । समाजवादी मोर्चा किन चाहियो ? धेरै तर्क र वितर्क आए । माक्र्सवादका प्रवद्र्धक कार्ल माक्र्स सबभन्दा तिखो र महान मस्तिष्क भनिन्छ । विरोधीले पनि स्विकार गर्ने व्यक्तित्व हो । क्रान्तिको नियम नै यस्तो छ, यो आँफै विकास हुँदै जाँदा बलियो प्रतिक्रान्तिकारी जन्माउँदै जानु क्रान्तिको नियम हुन्छ ।’

उनले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको माध्यमबाट नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा आएको उल्लेख गर्दै अझै गर्न धेरै बाँकी रहेको सुनाए । उनले भने,‘परिवर्तनलाई उल्टाउने विभिन्न कसरतहरु भएका छन् । षड्यन्त्र भैरहेका छन् । त्यसलाई परास्त गर्न बलियो मोर्चाको आवश्यकत्ता छ । म यो मोर्चा बनेकोमा धेरै खुशी छु । म अलिक बढि नै खुशी छु । हिजो शान्ति प्रक्रिया अघिसम्म उपेन्द्र र हामी सँगै थियौं, पछि उहाँ छुटिनुभयो । जनयुद्धमा विप्लव र म सँगै थियौं । म उहाँकै सुरक्षा घेरामा बसेको छ। हिजो नेकपाकालमा माधव नेपाल र हामीसँगै थियौं, पछि छुट्यिौं । अहिले सबै एक ठाउँमा जम्मा भएकोले म जत्तिको खुशी को होला ?’

उनले समाजवादी मोर्चा सुरुवातमात्रै भएको उल्लेख गर्दै यसले लामो यात्रा तय गर्ने दाबी गरे । उनले भने,‘यो अघि बढ्दै जाँदा कहाँ पुग्छ । सिंगै कम्युनिष्ट पार्टीहरुबीच एकता हुन्छ । समाजवादको तयारी गर्ने कुरामा त्यत्तिकै ध्यान छ । हामी क्रमशः अगाढि बढ्छौं । सुशासनको पक्षमा यो मोर्चा एक ठाउँ भएर लड्दा हामी विजयी हुन्छौं ।’

उनले आफूलाई प्रधानमन्त्री पदको स्थायत्विको त्यति धेरै चिन्ता नभएको पनि उल्लेख गरे । उनले भने,‘यो सरकार कति चल्छ या चल्दैन्, अब यो मेरो टेन्सनको विषय छैन् । सरकार जोगाउन प्रचण्डले यसो गर्यो भनिन्छ, त्यसो गर्यो भन्छन् । त्यो वाहियात कुरा हो । राम्रो काम गर्दा गर्दै कसले हटाउँछ ? म पनि हेर्छु । एक महिना भएपनि छोडिदिन्छु । सरकार छोड्न मलाई गार्हो छैन ।

उनले भ्रष्टाचारको विषयमा पनि आफूले अनुसन्धान हुँदै जाँदा जुनसुकै प्रकरणमा आफ्नो नाम नै जोडिएपनि नरोकिन सिआईबीलाई भनेको स्मरण गराए । उनले भने,‘प्रचण्डले माओवादी जोगाउन खोज्यो भनेर गलत आरोप लगाईएको छ । दोषी देखिन्छ भने माओवादीको सबै नेता, म स्वयम प्रचण्ड देखिएपनि नछोड भनेर प्रहरीलाई भनेको छु ।’ उनले समाजवादी मोर्चा बनेदेखि नै यसलाई फुटाउनको लागि अनेक षड्यन्त्र र धुप हाल्ने काम सुरु भैसकेको आरोप लगाए । उनले भने,‘समाजवादीहरु विभाजित हुँदा निरंकुशवादीहरु हाबी हुन्छन् । यसमा सबैले हेक्का राखौं ।’

  • १४ भाद्र २०८०, बिहीबार १८:२८ प्रकाशित