सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो ।
‘सरकारविरुद्ध घेराबन्दी भएको छ । कानुन, प्रशासन, अर्थतन्त्र, अदालत, सम्पूर्ण प्रशासन यन्त्र, अन्तर्राष्ट्रिय शक्तिबाट घेराबन्दी भएको छ,’ उनले भने । मुलुकको कार्यकारी प्रमुखलाई मुद्दा चलाउने कार्य त्यत्तिकै सतहमा नआएको उनको भनाइ थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै बिहीबार सो दाबी गरेका हुन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन गर्दा देशको नेतृत्व प्रचण्डभन्दा बाहेकले गरेको खण्डमा देश युक्रेन बन्ने उनले दाबी गरेका छन् ।
‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ । तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ । हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने ।
सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भएपनि हस्तक्षेप स्वीकार नहुने पनि उनले बताए ।
साथै, उनले देशमाथि विभिन्न षडयन्त्र भइरहेको पनि बताए । ‘आजसम्म कसैको पनि कसैसामु नझुकेको नेपालमाथि षडयन्त्र गरिँदैछ । कुनै न कुनै रुपले क्रान्तिकारी शक्तिहरुको अभाव हुनेबित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरुले क्रान्तिको विरुद्धमा लाग्ने तयारी भएको छ । त्यसको विरुद्धमा पनि हामी लाग्छौं,’ विप्लवले भने ।