६० किलो सुन तस्करी प्रकरण

अनुसन्धान गर्न सीआईबीको अधिकृतलाई भारत पठाइँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ ।

सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको केन्द्र्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । ब्यूरो स्रोतकाअनुसार बिहिबार नै अनुसन्धान अधिकृतलाई भारत पठाउने तयारी छ ।

हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । भारतमा गएर ती अधिकृतले नयाँ ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर सूचना संकलन गर्नेछन् ।

दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।

  • १४ भाद्र २०८०, बिहीबार १५:०७ प्रकाशित