प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकमा हिंसा भड्कने अवस्था सिर्जना भयो : पदम गिरी

देशमा अराजतकताको सिर्जना गर्ने र त्रासदीपूर्ण अवस्था सिर्जना गर्ने काम स्वयं प्रधानमन्त्रीले गरिरहनु भएको छ

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको कारण देशमा अराजकता सिर्जना भइरहेको आरोप लगाएका छन् ।

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले ‘जातीय राज्यको पक्षमा छु, हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातीय राज्य स्थापित गराई छाड्छु’ भन्नेजस्ता अभिव्यक्ति दिएको कारण मुलुकमा त्रासदीपूर्ण अवस्था सिर्जना भएको बताएका हुन् ।

‘पछिल्लो समय प्रधानमन्त्री ज्यूले जुन प्रकारले अभिव्यक्तिहरु दिनुभएको छ, ‘म जातीय राज्यको पक्षमा छु, तपाईँहरु जाग्नुस्, उठ्नुस्, तपाईँहरुले मलाई बल दिनुपर्ने बेला आएको छ, बल दिनुस् । हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातीय राज्य स्थापित गराई छाड्छु’ जस्ता अभिव्यक्तिहरु दिँदै आउनु भएको छ ।’ उनले भने, ‘यो अभिव्यक्ति असंवैधानिक त छदैँछ । मुलुकमा हिंसा भड्काउने र देशमा अराजतकताको सिर्जना गर्ने र त्रासदीपूर्ण अवस्था सिर्जना गर्ने काम स्वयं प्रधानमन्त्रीले गरिरहनु भएको छ ।’

प्रधानमन्त्रीजस्तो व्यक्ति आपसमा मिलेर बसेको जनताबीचमा विद्वयष र घृणा फैलाउने काम स्वीकार्य हुन नसक्ने उनको भनाई छ ।

  • १२ भाद्र २०८०, मंगलवार १४:२८ प्रकाशित