काठमाडौँ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ । शोमा १२० वटा स्टल सहभागी हुने भएका छन् ।
कोभिड महामारीको कारण ३ वर्षपछि हुँदै गरेको नाडा अटो शोमा १२० वटा स्टल सहभागी हुने भएका छन् । गत वर्ष नाडाकै आयोजनामा विद्युतीय अटो शो सञ्चालन गरेको थियो ।
अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको १५ औं संस्करणको टाटा मोटर्स जेनुइन आयलले गर्ने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको अटो शो सभापति अनुप कुमार बरालले जानकारी दिए ।
नाडाका अध्यक्ष ध्रुव थापाले अटो शो र चार्डपर्वमा ४० प्रतिशत व्यापार हुने गरेको बताए । अहिले मन्दी जस्तै रहेको अटो बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । अटो शोमा बुकिङ भएपनि दशैं तिहारसम्म २० अर्ब कारोबार हुने थापाले बताए ।
नाडाले पार्किङको लागि भृकुटीमण्डप बाहिर व्यवस्था गरिएको छ । पार्किङ गरेपछि निशुल्क सटल बसको प्रयोग गरि प्रदर्शनी स्थलमा जान सकिने छ ।
अटो शोमा सहभागी हुनेको लागि २०० रूपैयाँको टिकटको तोकिएको छ । विद्यार्थीहरूलाई भने १५० रूपैयाँ रहेको छ ।
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएको छ । ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ ।