एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्री प्रचण्डको अपिल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डले एकता र सद्‍भावको पक्षमा उभिन देशवासीलाई अपिल गरेका छन् । धरानमा पछिल्लो समय देखिएको अशान्तिको सन्दर्भमा शनिबार साँझ अपिल जारी गर्दै प्रधानमन्त्री दाहालले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन आग्रह गरेका हुन् । जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो अपिल गरेका हुन् ।

‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु,’ उनले शनिबार साँझ विज्ञप्तिमार्फत भनेका छन् ।

धरानमा केही दिनदेखि भएको जातीय र धार्मिक विवाद बढ्दै गएपछि शनिबार दिनभर निषेधाज्ञा जारी गरिएको थियो। सम्भावित घटना घट्न नदिन स्थानीय प्रशासनले शनिबार निषेधाज्ञा लगाएको थियो।

‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ। हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,’ उनले भनेका छन् ।

  • १० भाद्र २०८०, आईतवार ०६:३७ प्रकाशित