पोखरा ।
गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जुवाखालबाट पक्राउ परेका छन् ।
लालचनसहित ७ जनालाई प्रहरीले हिजो (बिहीबार)साँझ पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
जोशीको अनुसार उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद भएको छ ।अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।
सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।















