प्रचण्ड र माधवले कोशीमा उत्पात मच्चाए : ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको टिप्पणी गरेका छन् ।

बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा ओलील्े माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको आरोप लगाए ।

“कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्”, ओलीले भन्नुभयो, “पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’

अध्यक्ष ओलीले जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै भन्नुभयो, “उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।”

कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको उनको टिप्पणी थियो । “साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनी ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्”, अध्यक्ष ओलीले भने ।

विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने र जनतालाई अन्यायको राज हुन नदिने उल्लेख गर्दै उनले भने, “अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ, कसैले कानुनको राज नगरेर बलजफती जनता दबाएर अन्यायको राज लाद्न खोज्छ भने त्यतिबेला हामीले प्रतिवाद गर्नुपर्छ ।”
उनले राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने बताए। “हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौँ’, उनले भने, “विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौम सत्ता जोगाउन सक्दैनौँ भने जागिरे बहादुरी के काम लाग्छ ?”

अध्यक्ष ओलीले कहिले कहिले नेपालीहरू न्यायका लागि मात्रै नभई अर्काका लागि पनि लडेको भन्दै उनीहरुले तिमीले हाम्रो नुन खाएकोले हाम्रै सोझो चिताउनुपर्छ भनेर समेत भन्न सक्ने बताए ।

“म भन्न चाहन्छु– हाम्रो रगत उहाँहरूले नुनको मूल्यमा किन्नुभएको छ । नुनको मूल्यमा रगत पसिना पाइँदैन”, उनले भने ।

  • ७ भाद्र २०८०, बिहीबार १५:३० प्रकाशित