पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

केन्द्रभाग मिडिया

लमजुङ ।

बुधबार बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।वर्षाले बिहीबार सबेरै ठाउँठाउँमा पहिरो चलाएपछि यातायात सेवा अवरुद्ध भएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार लमजुङ खण्डको बेंसीसहरदेखि करिब ३ किलोमिटरको दूरीमा पर्ने बेंसीसहर नगरपालिका-६, उत्तीसघारीको खरखरे र करिब ३३ किलोमिटरमा पर्ने मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने च्याम्चे क्षेत्रको बक्सकटिङमा ठूलो पहिरो खसेपछि बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने रामबजार, घोप्टे र च्याम्चेको पहिरो भने हटाइसकिएको इन्जिनियर अधिकारीले जानकारी दिएका छन् । उनले खरखरे र बक्स कटिङमा पहिरो गएकाले समय लाग्ने बताएका छन् । पहिरो हटाउन मेसिन पठाइसकिएको उनले बताए ।

सडक कार्यालयले पहिरो पन्छाउन लमजुङतर्फ रामबजार, श्रीचौर र मनाङतर्फ दानाक्युमा डोजरहरू तयारी अवस्थामा राखेको छ । पहिरो खसिरहने र वर्षा भइरहने भएकाले समयमै सडक खुलाउन समस्या भइरहेको कार्यालयले जनाएको छ ।

  • ७ भाद्र २०८०, बिहीबार १३:०७ प्रकाशित