गण्डकीमा मन्त्रीहरुका १०० दिन

उल्लेख गर्न लायक छैनन् उपलब्धी, तर सार्वजनिक गर्ने होड

मुख्यमन्त्रीले उपलब्धी सार्वजनिक गरेपछि मन्त्रीहरुले छुट्टै सर्वजनिक गर्नु राजनीतिक संस्कार विपरित : कांग्रेस सांसद वराल, अधिकारी सरकारले गरेका कामलाई हामी गरेका हौं भनेर सार्वजनिक गर्ने काम भयो : एमाले सांसद गाहा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मन्त्रीहरुका बीचमा १०० दिने उपलब्धी सार्वजनिक गर्ने होडबाजी चलेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धी सार्वजनिक गरेपनि उनको मन्त्रिपरिषदमा रहेका सदस्यहरुले एकपछि अर्को गर्दै आफ्नो मन्त्रालयका उपलब्धी सार्वजनिक गर्नेक्रम जारी छ ।

बुधबार मात्र प्रदेश सरकारका प्रवक्ता समेत रहेकी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती आर्याल तिवारीले आफूले मन्त्रालय समालेको १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् । यस अघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेसम बहादुर जुग्जालीले पत्रकार भेटघाट मार्फत आफ्ना उपलब्धी सार्वजनिक गरिसकेका छन् ।

मुख्यमन्त्रीले नै सरकारको उपलब्धी सार्वजनिक गरिसकेपछि मन्त्रिपरिषद्का सदस्यले आ–आफ्नो मन्त्रालयको उपलब्धी भनेर सार्वजनिक गरेकामा स्वयम सत्तारुढ दलका सांसदहरु नै असन्तुष्ट देखिएका छन् । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसका सांसद प्रकाश बरालले मुख्यमन्त्रीले सरकारको उपलब्धी सर्वजनिक गरिसकेपछि मन्त्रिपरिषद्का सदस्यले पनि उपलब्धी भनेर सार्वजनिक गर्नु असल राजनीतिक संस्कार नभएको टिप्पणी गरे ।

उनले ‘मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मात्र उपलब्धी सार्वजनिक गर्नुभएको हो र ?’ भन्ने प्रश्न गर्दै ‘उहाँले त्यसो गर्नु भएको होइन भने मन्त्रिपरिषदका सदस्यले अलग–अलग उपलब्धी सार्वजनिक गर्नुलाई असल राजनीतिक संस्कार मान्न मिल्दैन,’ भनेका छन् ।

मुख्यमन्त्रीले सार्वजनिक गरेका उपलब्धी मन्त्रीले सार्वजनिक गरेका उपलब्धी एकअर्कामा बाझिए के गर्ने भन्दै उनले यसो गर्न नहुनेमा उनको जोड थियो । सरकार मुख्यमन्त्रीको कमाण्डमा रहने भएकाले मन्त्रिपरिषद्का सदस्य पनि सबै जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रोशन गाहामगर मन्त्रीहरुले पनि १०० दिने उपलब्धी भन्दै सार्वजनिक गर्नुलाई ‘जसलिने होडबाजी’ भनेका छन् । सय दिनमा के नै गर्न सकिन्छ र भन्दै उनले अहिलेका मन्त्रीहरुले अघिल्लो खगराज अधिकारी नेतृत्वको सरकारले गरेका कामलाई आफूहरुले गरेको भन्दै जस लिएको टिप्पणी गरे ।

‘सय दिनमा नै गर्न सकिने के छ र ? उही अघिल्लो खगराज अधिकारी नेतृत्वको सरकारले थालेका कामलाई आँफैले गरेजसो गरेर प्रस्तुत गरिरहनुभएको न हो’ उनले भने । सांसद गाहामगरले उपलब्धी नभएपनि पत्रकारसंग भेटघाट गर्नु र राय लिनुलाई नकरात्मक रुपमा भने लिन नहुने धारणा राखेका छन् ।

भेटघाट र प्रतिक्रियाका लागि पत्रकार बोलाएको हो : मन्त्री जुग्जाली

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुग्जालीले मुख्यमन्त्रीले नै उपलब्धी सार्वजनिक गरिसकेपछि आफूहरुले फेरी बोलाउन जरुरी नरहेको तर भेटघाट होस् अनि प्रतिक्रिया पनि प्राप्त होस् भनेर पत्रकार भेटघाट कार्यक्रम राखेको प्रतिक्रिया दिएका छन् ।

उनले १०० दिने उपलब्धी सार्वजनिक गर्न मन्त्रालयमा गरको पत्रकार भेटघाट कार्यक्रममा राखिएको जिज्ञासामा यस्तो जवाफ दिएका हुन् । ‘सरकारको उपलब्धी मुख्यमन्त्री ज्यूले नै सार्वजनिक गरिसक्नु भएको छ । तपाईले अलग किन कार्यक्रम राख्नुभयो ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो जवाफ फर्काएका थिए । उनले मन्त्रालयले गरेका उपलब्धी थप विस्तृत रुपमा जानकारी समेत दिन पाएको बताए ।

  • ६ भाद्र २०८०, बुधबार १९:२६ प्रकाशित