धादिङ बस दुर्घटन : मृतक आठमध्ये चार जनाको सनाखत

केन्द्रभाग मिडिया

धादिङ ।

धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको सनाखत भएको हो ।

दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक एक महिला र तीन पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले इसेवाबाट टिकेट काटेका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बस चढेका थिए । सहचालक तामाङ सकुशल छन् ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १७ जना घाइते छन् । १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार गरेका थिए ।

  • ६ भाद्र २०८०, बुधबार १६:३७ प्रकाशित