काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिले खेलाडीलाई शुभकामना दिएका हुन् । भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।
यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको छ’ उनले भनेका छन्, ‘यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीब्रता दिनुपर्दछ भन्ने मलाई लाग्दछ ।’
विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय भएको उल्लेख गर्दै उनले ‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनेत र परिश्रम सफल होस्’ भनेका छन् ।