गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

राति देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

भारी वर्षा हुने क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

  • ५ भाद्र २०८०, मंगलवार ०७:२१ प्रकाशित