गण्डकी ।
‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् ।
विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।
सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताए । १३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थासँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ ।
१४ गते लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिए । भदौ १५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उनको भनाइ छ ।














