काठमाडौं ।
नेपालमा पहिलोपटक ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।
भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।संघले बिहीबार पत्रकार सम्मेलन अयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।
भदौ १ गतेदेखि ५ गतेसम्म हलचोकस्थित एपीएफ क्लबको कभर्डहलमा हुने च्याम्पियनसिपमा यू-१५ र यू-१७ मा गरी व्यक्तिगत र टिम स्पर्धा गरी कूल १२ इभेन्ट समावेश छ ।
यू-१५ इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।
यू-१७ तर्फ पनि इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धामा खेल हुनेछ ।
यू-१५ र यू-१७ दुवैमा टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा हरेक देशका ८–८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । नेपाली टिममा १६ खेलाडी छन् ।ब्याडिमन्टन एसियाको डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत हुन लागेको यस प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले गर्नेछ ।