गल्याङ ।
स्याङ्जाको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले काम गर्दा जनताको गुनासो नआउनेगरी काम गर्नुपर्ने बताएका छन् । बुधबार नगरपालिकाको सिटीहलमा आयोजित वार्षिक समिक्षा कार्यक्रममाको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका भावनालाई सम्मान गर्ने खालका काममा अगाडि बढ्न आग्रह गरे ।
जनताको भावनामाथी खेलवाड गर्ने अधिकार कसैलाई पनि नभएको र कर्मचारी र स्वयम जनप्रतिनिधि आफ्नो कर्म प्रति लगानशील भएर अगाडि बढ्न आश्वक रहेको उनको भनाई छ । उनले प्राप्त उपलब्धीलाई आधार मानेर अझ बढि जनताको सेवामा लाग्न आग्रह आग्रह गरे । भएका स्रोत साधान र जनशक्तिको अधिकतम प्रयोग गरि स्थानीयको आवश्यकतालाई केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिए ।
उपमेयर हेमा न्यौपानेले राम्रो नतिजा निकाल्न सबैभन्दा बढि भूमिका कर्मचारीको हुने भन्दै आफ्नो काममा अझै बढि दत्तचित्त भएर लाग्न आह्वान वरिन् । नगरपालिकाले गरेका सकारात्मक कामहरुलाई अझै बढाउँदै जानुपर्ने उनको भनाई छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले सबैभन्दा धेरै योजना सम्पन्न गर्नेमा स्याङ्जा जिल्लामा नै गल्याङ नगरपालिका पहिलो भएको दाबि गरे । उनले आर्थिक वर्ष २०७९/०८० मा सम्झौता भएका ६ सय ३१ वटा उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजना मध्ये ६ सय १२ वटा योजना सम्पन्न भएको जानकारी दिए ।
शर्माले कुल रकमको ८९ प्रतिशत खर्च गर्ने गल्याङ नगरपालिका नै जिल्लामा एकमात्र रहेको जानकारी दिए । उनका अनुसार त्यसपछि बढि खर्च गरेको वालिङ नगरपालिकाले गत आर्थिक वर्षमा ८० प्रतिशत मात्रै खर्च गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले २१ वटा ठेक्का सम्झौता भएका योजनाहरु मध्ये १६ वटा योजना सम्पन्न भएको र पाँच वटा सञ्चालनको क्रममा रहेको बताए । वार्षिक समिक्षा कार्यक्रममा पेश भएको विवरण अनुसार गल्याङ नगरपालिकाको वडा नम्बर १ र २ मा ५३÷५३ वटा र वडा नम्बर ३ मा ५१ वटा गरी सम्झौता भएका सबै योजना सम्पन्न भएका छन् । वडा नम्बर ४ मा ४५ वटा मध्ये ४३ वटा योजना सम्पन्न भएका छन् भने वडा नम्बर ५ मा ५१ वटा योजना मध्ये ४७ वटा योजना सम्पन्न भएका छन् ।
यस्तै, वडा नम्बर छ मा सबै ५२ वटै योजना सम्पन्न हुँदा वडा नम्बर सात मा ५६ योजना मध्ये ५३ योजना सम्पन्न भएका छन् । वडा नम्बर ८ मा ४७ योजना मध्ये ४४ योजना सम्पन्न भएका छन् । गल्याङ नगरपालिकामा नै सबैभन्दा धेरै ७८ योजना रहेको वडा नम्बर ९ मा ७८ वटै योजना सम्पन्न भएका छन् । वडा नम्बर १० मा ७१ योजना मध्ये ६४ योजना सम्पन्न हुँदा वडा नम्बर ११ मा सम्झौता भएका सबै ७४ वटै योजना सम्पन्न भएका छन् ।
प्रतिबेदन प्रस्तुतिका क्रममा कर्मचारीलाई आवश्यक तालिम, रिक्त कर्मचारीको पदपूर्ति, प्रदेश र संघका योजनाको बारेमा बेलैमा जानकारी गराउनुपर्ने, स्थानीयलाई नगरपालिकाप्रति बढ्दो परनिर्भरता कम गर्नुपर्ने, अनुदानमुखी कार्यक्रम कम गर्नुपर्ने, कृषि फम नविकरणमा सचेत गराउनुपर्ने, बाँदरको समस्या समाधानमा पहल लिनुपर्ने लगायतका सुझाब पनि दिइएको छ ।














