मुस्ताङको कागबेनी तीन दिनदेखि अन्धकारमा

केन्द्रभाग मिडिया

Photo : onlinekhabar

पोखरा ।

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।

आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ ।

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

मङ्गलबारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए ।

  • ३१ श्रावण २०८०, बुधबार १४:५५ प्रकाशित