काठमाडौँ । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई पूर्व प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ ।
पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले बताएको जनाइएको छ।
ललिता निवासबारे अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतहरुले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग आइतबार ६ घण्टाभन्दा लामो समय बयान लिएका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्यसचिव थिए ।
बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले २०६९ असोज १८ मा ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न अनुमति दिने निर्णय गरेको थियो । नक्कली खडा गरिएको ‘पशुपति टिकिन्छा गुठी’को नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
२०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ को मन्त्रिपरिषद्को निर्णयको आधारमा ललिता निवासको जग्गा हिनामिना भएको सीआईबीको अनुसन्धानबाट देखिएको छ । भट्टराई र नेपाल प्रधानमन्त्री हुँदा ती निर्णय भएका हुन् ।













