सन्दीप लामिछानेको अन्तिम सुनुवाइ साउन ३२ गते

केन्द्रभाग मिडिया

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको आगामी साउन ३२ गते बिहीबार पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।

तर काठमाडौँ जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुन अगाडि नै नेपाल क्रिकेट सङ्घले एसिया कप खेल्ने १७ सदस्यीय टोलीमा सन्दीपको नामसमेत समावेश गरिसकेको छ ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किए लगत्तै सो को जानकारी अदालतलाई दिनुपर्ने आदेश दिएको थियो । सरकारी वकिल भने सन्दीपलाई थुनामै राख्नुपर्ने रिट लिएर सर्वोच्च पुगेको थियो ।

सर्वोच्चकै आदेशमा सन्दीपले पीडित भनिएकी गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति बापत एक लाख रुपैयाँ दिइसकेका छन् ।

  • ३० श्रावण २०८०, मंगलवार १०:१० प्रकाशित