पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापना दिवसको अवसरमा तालबाराही मन्दिरको मन्दिर पुन निर्माणका लागि सहयोग गरेको छ । ‘आर्थिक विकास लागि पर्यटन व्यवसायमा महिला’ भन्ने मुल उद्देश्य सहित स्थापना भएको संस्थाले आफ्नो सातौं स्थापना दिवस पोखराको ताल बाराहीमा आर्थिक सहयोग गर्दै मनाएको हो ।
स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गरेर पर्यटकीय गतिविधि बढाउन सकिने चर्चा गरिन् । उनले देशको अर्थतन्त्र उकास्न पनि पर्यटन प्रवद्र्धन जरुरी रहेको धारणा राखिन् । केन्द्र सरकारले घोषणा गरेपनि नगरेपनि पोखरा पर्यटकीय राजधानी रहेको उनको भनाई छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समय भइसक्दा समेत यसमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको र प्रदेश एवं केन्द्र सरकारले समेत आवश्यक पहल गरेको महसुस हुन नसकेपछि आँफूले प्रदेश सभामा संकल्प प्रस्ताव पेश गरेको उनले जानकारी दिइन् ।
नेपाल पर्यटन वोर्ड गण्डकीका निमित्त प्रमुख नवीन पोखरेलले पर्यटन प्रवद्र्धनमा महिला पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवसायी महिलाहरु धेरै भाषामा पोख्त हुनुपर्ने भन्दै भाषाका कक्षा सञ्चालन लगायत प्रवद्धनात्मक कार्यक्रममा पर्यटन वोर्डले सहकार्य गर्ने जानकारी दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले महिला पर्यटन व्यवसायीको साथमा सधैं पोखरा पर्यटन परिषद रहेको बताए ।
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले हरेक महिला पर्यटन व्यवसायीको संस्था ओटेफले सरकार र पर्यटकीय संघ संस्थासंग मिलेर प्रवद्धनात्मक कार्य गरेको बताइन् । उनले संस्थाले हरेक स्थापना दिवश मानवीय र सामाजिक कार्य गरेर मनाएको स्मरण गरिन् ।
तालबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कार्कीले स्थापना दिवशको अवसरमा मन्दिर पुनः निर्माणका लागि भएको सहयोग श्रहानिय रहको बताए । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष उमा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ममता न्यौपाने र सचिव लक्ष्मी लामिछानेले संस्था र कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।