भारतको हिमाचल प्रदेशमा पहिरोमा परिदाँ १६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको ज्यान गएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको ज्यान गएको हो ।

सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले जानकारी दिएका छन् । त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान छ । साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन् ।

हिमाचल प्रदेशमा भारी वर्षा र पहिरोले जनजीवन प्रभावित भएको छ । केही जिल्लामा लगातार ४८ घण्टादेखि वर्षा भइरहेको छ । नदी र खोलामा बाढी उर्लिएको छ । सडक भत्किएर यातायात आवागमन प्रभावित भएको छ ।

मुख्यमन्त्री सिंहले हिमाचल प्रदेशको जनजीवन अस्तव्यस्त भएको बताएका छन् । सडकहरु अवरुद्ध भएकाले घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

  • २९ श्रावण २०८०, सोमबार १४:०२ प्रकाशित