पोखरा ।
पृथ्वी राजमार्ग अन्तरगत (आबुखैरेनी–पोखरा) खण्ड स्तरोन्नती को काम सुस्त भएको भन्दै पोखरा पर्यटन परिषद्ले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। परिषद्ले आइतबार उक्त सडकको निरिक्षण समेत गरेको थियो । निरिक्षण पछि दमौलीमा पत्रकार सम्मेलन गरेर परिषद्ले सडकको कारण नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग क्षत्रेले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनुपरेको बताएको छ ।
संघीय राजधानी काठमाडौं र पोखरालाई जोड्ने पृथ्वी राजमार्गको २ सय किलोमिटर दुरी अहिले यात्रा सकसपूर्ण हुदाँ १२ घण्टासम्म लाग्ने गरेको र जसको असर व्यवसायीक क्षेत्रमा देखिएको उनिहरुको गुनासो छ ।
यसबाट पोखरा र वरपरको पर्यटनमा नकरात्मक प्रभाव परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायाण श्रेष्ठले बताए ।
सडक निर्माण कार्य सुरु भएको यतिका समय गुज्रँदा पनि न्युन प्रगति हुनु निरासाजनक र दुःखद पक्ष हो, सडक विस्तार कार्यबाट विविध क्षेत्रमा निकै कठिननाई उत्पन्न भएको स्मरण गराउदै सडक विस्तार कार्यलाई व्यवस्थित तीब्र रुपमा अगाडी बढाउन सरकार, निर्माण पक्ष र सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छौ, श्रेष्ठले भने ।
मुग्लिन–पोखरा खण्ड विस्तार र स्तरोन्नती कर्यलाई तिव्रता प्रदान गरी समयमौ काम सम्पन्न गर्न व्यवसायीले चासो व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माणलाई असर नपर्ने गरी एकतफी सहज रुपमा गाडी हिन्न सक्ने गरी यात्रुलाई सहज यात्राका लागि व्यवस्था गर्न समेत माग गरेका छन् ।
करिब ८० किलोमिटर सडकलाई दुइ खण्डमा विभाजन गरी निर्माण थालिएको छ । आबुखैरेनीदेखी तनहुँको जामुनेसम्मको ४१ किलोमिटर (पूर्वी खण्ड)को लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले निर्माण थालेको छ । उक्त खण्डको काम २०८१ साल वैशाखसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ ।
जामुनदेखि पोखरासम्म (पश्चिम खण्ड) अन्तर्गतको चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले २०८१ भदौसम्म म्याद छ । तर, सम्झौता अनुसारको समयावधि नजिकिँदै गर्दा पनि निर्माणले गति लिन सकेको छैन।
पूर्वी खण्डमा ३१ं.५ र पश्चिम खण्डमा ५ प्रतिशत प्रगति भएको छ ।