उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्छ : वामदेव गौतम

प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन एमालेलाई सुझाव

केन्द्रभाग मिडिया

काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करी लगाएतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन् ।

गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे । उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘त्यस (उच्चस्तरीय छानबिन समिति) को निर्माण गर्नेबित्तिकै कार्यादेश हुन्छ, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने भन्ने हुन्छ । त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीसम्म पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्दछ’, उनले भने, ‘हाम्रोमा निलम्बन गर्ने व्यवस्था त छैन । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ, राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ ।’

गौतमले प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिएका छन् । प्रधानमन्त्रीलाई हटाउने हो भने अविश्वासको प्रस्ताव लगे भइहाल्यो, उनले भने ।

उनले सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने जिकिर गरेका छन् ।

  • २४ श्रावण २०८०, बुधबार १७:५५ प्रकाशित