उठ्न थाल्यो फोहोर

आजदेखि लामेआहाल लगियो पोखराको फोहोर

केन्द्रभाग मिडिया

पोखरा ।

झण्डै दुई सातादेखि पोखराका सडकमा थुप्रिएका फोहोर आजदेखि उठ्न थालेको छ ।

स्थानीयले भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गर्दा १२ दिनदेखि उठाउन नसकेको पोखरा महानगरको फोहोर आजदेखि महानगरले उठाउन थालेको हो । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध भएपछि फोहोर सडकमै थुप्रिएको थियो ।

फोहोर व्यवस्थापनका क्रममा स्थानीयले अवरोध गरे बल प्रयोग गरेरै भएपनि फोहोर व्यवस्थापन गर्ने महानगरको तयारी छ ।

सोमबार जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

 

महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाउन स्थानीयसँग महानगरले विभिन्न १६ बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध पुर्याएका थिए ।

  • २३ श्रावण २०८०, मंगलवार ०९:२७ प्रकाशित