कृषि सामग्रीको जग्गा

हङकङ बजार रहेको जमिनको ठेक्का गुडलक कम्पनी प्रालिलाई

सम्झौता स्विकार्य छैन, हामी आन्दोलनमै छौं : व्यवसायी, संझौता कार्यान्वयनमा गइसक्यो अब दायाँबायाँ हुँदैन : कृषि सामग्री कम्पनी

गोविन्द सुवेदी

 

पोखरा ।
कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजार रहेको जमिनको ठेक्का गुडलक कम्पनी प्रालिलाई दिएको छ । टेण्डर प्रक्रियामा भाग लिएकामध्ये गीता जोशी, नरसिंह इन्जिनियरिङ र गुडलक कम्पनी प्रारम्भिक छनोटमा परेकामा गुडलक कम्पनीले ठेक्का पारेको कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालयका प्रमुख ठाकुर बास्तोलाले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो नम्बरमा टेण्डर पार्ने गीता जोशी र नरसंह इन्जिनियरिङ सम्झौता गर्न नगएपछि तेस्रो नम्बरमा रहेको गुडलकलाई जग्गा भाडामा दिन सम्झौता गरिएको हो ।

विगतमा आफूहरुले व्यक्तिगत रुपमा उक्त जग्गा भाडामा लिएको र अहिले कम्पनीको नाममा टेण्डर परेर सम्झौता गरिएको गुडलक कम्पन प्रालिका प्रबन्ध निर्देशक मिलन तिवारीले बताए । आफूहरुले नै सम्झौता गरेकाले हङकङ बजारका व्यवसायीलाई सहज हुने उनको भनाई छ । ‘विगतमा हामीले उक्त जग्गा व्यक्तिगतढंगले भाडामा लिएका थियौं । अहिले कृषि सामग्री कम्पनीले टेण्डर आह्वान गरेपछि े ठेक्कामा पार्न सफल भयौं । सञ्चालक उही हौं । व्यवसायी पनि उही हुनुहुन्छ । त्यसो हुँदा समस्य आउँदैन,’ उनले भने ।

मिलन तिवारीसँगको ठेक्का सम्झौता २९ माघ २०७९ मा २९ सकिएसंगै कृषि सामग्री कम्पनीले उक्त जग्गा भाडाका लागि टेण्डर आह्वान गरेपछि व्यवसायी आन्दोलित छन् । पोखराका फुटपाथ तथा खुला क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीलाई व्यवस्थित गर्न २०६९ फागुनमा खुलेको हङकङ बजारमा झण्डै चार सय व्यवसायीले व्यवसाय गर्दै आएका छन् । त्यतिबेला व्यवसायी तिवारीले कृषि सामग्रीको जग्गा भाडामा लिएर स्टल बनाई भाडा उठाउँदै आएका थिए ।

कृषि सामग्री कम्पनी स्वामित्वको करिब ७ रोपनी र केही उपत्यका नगर विकास समितिको जग्गामा बनाइएको हङकङ बजारमा व्यवसाय गरिरहेका उनीहरु भाडा वृद्धि हुने भएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरु कहिले महानगर घेराउ गर्न पुगे भने कहिले कृषि सामग्री कम्पनीको पोखरा कार्यालय पुगेर धर्ना दिने लगायतका विरोधका कार्यक्रम गर्ने गरेका छन् । यद्यपी व्यवसायी आत्तिनु नपर्ने गुडलक कम्पनीका सञ्चालक मिलन तिवारी बताउँछन् । ‘भाडा स्वभाविक रुपमा केही बृद्धि हुन्छ नै । पहिले हामीले सस्तोमा पाएका थियौं । सस्तैमा दियौं । अहिले महंगो परेकाले स्वभाविक रुपमा भाडा बढ्छ । यस अगाडि हामीले सबैलाई ३४ सयका दरले भाडा लिएका थियौं ।

अब बैज्ञानिक भाडादर लागु गर्छौं । त्यसका लागि व्यवसायीसंग पनि बसेर छलफल गर्छौं । मुखमा रहेका सटरहरुको भाडा केही महंगो र भित्र रहेका सटरहरुको भाडा केही सस्तो हुन्छ । त्यसो हुँदा व्यवसायीलाई समग्रमा मर्का पर्दैन । पृथ्वीचोक जस्तो व्यापारिक ठाउँमा व्यवसाय गर्दा व्यवसायीले केहि न केही बढि स्वभाविक रुपमा तिर्नुपर्छ नै । अहिले नै भाडा कति पर्छ भनेर तोकेका पनि छैनौं । उहाँहरुसंग नै बसेर भाडा निर्धारण गर्छौ’ उनले भने ।

गुडलकका प्रवन्ध निर्देशक तिवारीले आफूहरुलाई परेका समस्या र अप्ठ्याराको विषयमा आइतबार पत्रकार भेटघाट कार्यक्रम गरेरै जानकारी दिने उल्लेख गरे । ‘वरपरका व्यवसायीले भन्दा कम मुल्यमै सटर हङकङ बजारका व्यवसायीले सटर पाउनुहुन्छ । अहिले यत्ति भनेँ । बाँकी हामीले भोलि (आइतबार) पत्रकार सम्मेलन गरेका छौं त्यहीँ सबैकुरा भन्छ’ उनले भने ।

गुडलकसंगको सम्झौता स्विकार्य छैन, हामी आन्दोलनमै छौं : व्यवसायी

यता हङकङ बजारका व्यवसायीले गुडलक कम्पनीलाई प्रवेश निषेध गर्ने बताएका छन् । हङकङ बजार व्यवस्थापन समितिका संस्थापक संरक्षक समेत रहेका व्यवसायी राजकुमार सुवेदीले अहिलेको आर्थिक मन्दीको अवस्थामा साना व्यवसायीलाई सरकारले संरक्षण गर्नुपर्नेमा भाडा बढाएर मर्कामा पार्ने काम गरेको टिप्पणी गरे ।

आफूहरुले यो सम्झौता नस्विकार्ने उनले बताए । गुडलकले पत्र पठाएको तर समितिले त्यसलाई स्विकार नगरेको उनको भनाई छ । ‘यस्तो अवस्थामा साना व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा उल्टो ढाड सेक्ने काम भएपछि कसरी हामी स्विकार गर्न सक्छौं ? भाडा तिर्दैनौं भनेका छैनौं, तिर्छौ, तर यो अवस्थामा हामीलाई झन पलायन गराउने नियत राखियो । हामीलाई यस्तो कुरा स्विकार्य छैन । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।

संरक्षक सुवेदीले बढ्ने भाडा तिर्न आफूहरुले नसक्ने हुँदा पलायनको विकल्प नरहेको सुनाए । ‘व्यवसायमा सवैतिर मन्दी रहेको कुरा यहाँहरुलाई जानकारी नै छ । यस्तो अवस्थामा कसरी भाडा बढाएर तिर्न सक्छौं ?’ उनले भने, ‘अहिलेको अवस्थामा हामी गर या मरको अवस्थामा छौं । त्यसैले हामी आफै पलायन हुने सम्झौता स्विकार्य छैन । हामी उहाँहरु (गुडलक) लाई छिर्न दिँदैनौं ।’

संझौता कार्यान्वयनमा गइसक्यो अब दायाँबायाँ हुँदैन : कृषि सामग्री कम्पनी

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय गण्डकीका प्रमुख ठाकुर बास्तोलाले हङकङ बजार रहेको जग्गा गुडलकलाई ठेक्कामा दिइएको र सम्झौता कार्यान्वयनमा गईसकेकाले अब दायाँबायाँ नहुने बताएका छन् । ‘गुडलकले केन्द्रमा गएर सम्झौता गरेर आइसकेको छ । अब दायाँबायाँ हुँदैन’ उनले भने, ‘व्यक्तिलाई दिँदा समस्या भोग्नु परेका हामीसंग प्रसस्त उदाहरण छन् । त्यसैले सार्वजनिक रुपमा ठेक्का आह्वान गरेर ठेक्का दिइएको हो । अब जसले ठेक्का पाएको छ, उसले काम गर्ने वातावरण बन्नुपर्छ । त्यसका लागि हामीले पनि सहयोग गछौं’ उनले भने ।

प्रमुख बास्तोलाका अनुसार यही १२ साउन देखि लागु हुनेगरी गुडलक कम्पनी प्रालिसंग ठेक्का सम्झौता भएको हो । सम्झौता अनुरुप गुडलकले मासिक १४ लाख ५६ हजारका दरले कृषि सामग्री संस्थानलाई बुझाउनुपर्ने छ । यस अगाडि मिलन तिवारीले मासिक तीन लाख ५२ हजारका दरले बुझाउने गरेका प्रमुख बास्तोलाले जानकारी दिए । अब गुडलकलाई काम गर्ने वातावरण आफूहरुले पनि बनाइदिनुपर्ने बताए ।

 

 

 

  • २० श्रावण २०८०, शनिबार १०:५८ प्रकाशित