गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको खतरा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना  छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • २० श्रावण २०८०, शनिबार ०७:१४ प्रकाशित