६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदीय सुनुवाइ समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन भएको छ । सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम सुनुवाइ समितिको बिहीबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

उनका अनुसार ६ जनाउपर ५ वटा उजुरी परेका थिए । प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा परेका ५ वटा उजुरीमध्ये ३ वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्तिकेन्द्रित रहेको पनि सभापति कार्कीले बताए ।

राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरूको कार्यकल सुरु हुनेछ । राजदूतको कार्यकाल ४ वर्षे रहेको छ ।

  • १८ श्रावण २०८०, बिहीबार १७:०२ प्रकाशित