पोखरा ।
गण्डकी प्रदेशले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दैनिक परीक्षण क्षमता ३०० जना हो । तर, अहिले दैनिक २० जनाको हाराहारीमा मात्र सेवाग्राही पुग्ने गरेका छन् । प्रदेश जन स्वास्थ्य ल्यावका महानिर्देशक मन मोहन मिश्रले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको बारेमा सर्वसाधारणले आवश्यक जानकारी नपाउँदा अपेक्षा गरे अनुरुप सेवग्राही नआएको स्विकार गरे । ‘हामी दैनिक तीन सय सेवाग्राहीलाई सेवा दिन सक्छौं । तर हामीकहाँ अहिले दैनिक त्यहि १५/२० जनाको हाराहारीमा सेवा लिन आउनुहुन्छ’ उनले भने ।
महानिर्देशक मिश्रका अनुसार अहिले प्रदेश जन स्वास्थ्य प्रयोगशालाले विभिन्न ३०० प्रकारका परीक्षण गर्न सक्छ । यसको क्षमता विस्तार गरेर एक हजार प्रकारको परीक्षण गर्ने योजना रहेको उनले सुनाए । बाहिर १५ हजार रुपैयाँ खर्च हुने परीक्षण प्रदेश जनस्वास्थ्य ल्यावमा तीन हजार ५०० रुपैयाँमा हुने उनले जानकारी दिए ।
प्रदेशका अन्य ल्यावहरुको समेत गुणस्तर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएकाले ल्यावहरुको समेत ल्याव प्रदेश जनस्वास्थ्य ल्याव रहेको उनको भनाई छ । ‘गण्डकी प्रदेशका अरु ल्यावहरुको पनि हामीले गुणस्तर हेछौं । त्यसैले यहाँ परीक्षण गर्दा थप विश्वसनियता हुने स्वभाविक भइहाल्यो’ उनले भने ।
प्रदेश जनस्वास्थ्य ल्यावले कोभिड-१९ पछिको संक्रमणलाई हेर्दा गत फागुनसम्म एक लाख ७८ हजार ४५७ जनाको कोभिड –१९ परीक्षण गरेको छ । जसमा ३५ हजार ३८ जनाको पोजेटिभ देखिएको र एक लाख ३८ हजार ७८७ जनाको नेगेटिभ रिजल्ट आएको थियो ।
कोभिड –१९ को संक्रमणका बेला महत्वपूर्ण भूमिका खेलेको ल्यावमा हुने परीक्षणका बारेमा राम्रोसंग जनतालाई जानकारी दिन पाउने हो भने कम खर्चमा गुणस्तरीय सेवा लिन पाउने उनले जानकारी दिए । प्रयोगशालामा अहिले ६ जना प्राविधिक रहेको र क्षमता अनुरुप (३०० जनालाई) सेवा दिँदा ३० भन्दा धेरै जना प्राविधिक जनशक्ति आवश्यक पर्ने उनले बताए । सेवाग्राही बढेमा जनशक्ति स्वभाविक रुपमा थप हुने उनको भनाई छ ।
सर्व साधारणलाई प्रदेश जनस्वास्थ्य ल्यावमा सस्तोमा गुणस्तरीय परीक्षण हुन्छ भन्ने जानकारी दिन क्यलेण्डर र ब्रोसर लगायतका सामग्री बनाएर बाँडिएको उनले मिश्रले जानकारी दिए । परीक्षणका लागि पुग्नेहरुले पनि ल्यावको बारेमा जानकारी लैजाने हुँदा अबको ५/६ महिनामा लाइन लागेको देख्न पाइने उनले दाबी गरे ।