आज पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित : अर्को बैठक साउन २२ गते

केन्द्रभाग मिडिया

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित : अर्को बैठक साउन २२ गते

काठमाडौँ ।

प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो ।

सहज ढंगले बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्ता पक्ष प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । विशेष कारण प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन गरिएको संघीय संसदमा महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

मंगलबार दिउँसो १ बजेका लागि तोकिएको बैठकपूर्व कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आकस्मिक समयमा बोल्न दिने र छानबिन समिति गठनका लागि प्रस्ताव राख्न दिने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । तर बैठक सकिनेवित्तिकै सत्तापक्षीय प्रमुख सचेतकले सहमति नजुटी बैठक राख्न नहुने भन्दै सूचना टाँस गरेर स्थगित गर्न माग गरेपछि प्रमुख सचेतक र सभामुखबीच छलफल भएको थियो । सभामुखसँगको छलफलमा सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।

  • १६ श्रावण २०८०, मंगलवार १६:०९ प्रकाशित