सुदूरपश्चिममा फुक्यो सरकार विस्तारको गाँठो, नागरिक उन्मुक्ति सरकारमा जाने

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्य दलका शीर्ष नेताहरूबीच सहमति जुटेसँगै प्रदेश सरकारको गाँठो फुकेको हो ।

नाउपाले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको सो पार्टीकी अध्यक्षसमेत रहेक‍ी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । खाली रहेको एक मन्त्रालय कांग्रेसले पाउने भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी सहभागी सहभागी थिए ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार गरिने सहमति भएको हो । नाउपाले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । नागरिक उन्मुक्ति पार्टीले यसअघि नै मुख्यमन्त्री शाहलाई मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो । उन्मुक्तिले २ मन्त्रालयको दाबी कायमै राखेपछि शपथ रोकिएको थियो । अब भने सहमति भएको छ यो सहमतिसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाउने भएको छ ।

  • १६ श्रावण २०८०, मंगलवार १३:०८ प्रकाशित