देशभर ७७ प्रतिशत धान रोपाइँ : गण्डकीमा गतवर्ष भन्दा १४ प्रतिशतले कम

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभर हालसम्म ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो ।

नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने ९९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।कर्णाली प्रदेशमा १२ साउनसम्म ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा पनि ८१ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा गत वर्षको भन्दा कम धान रोपाइँ भएको छ । गत वर्षको १२ साउनसम्म ९६ प्रतिशत धान रापाइँ भएकोमा यो वर्ष १२ साउनसम्म ८२ प्रतिशत मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ७२ प्रतिशत र मधेश प्रदेशमा ५९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ८४ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

  • १५ श्रावण २०८०, सोमबार १४:४५ प्रकाशित