काठमाडौं ।
त्रिभुवन आर्मी फुटबल क्लबको टोली डुरान्ड कप खेल्नका लागि शनिबार भारततर्फ प्रस्थान गरेको छ ।
वसन्तराज गुरुङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय बायुसेना निगमको जहाजमार्फत भारत प्रस्थान गरको हो । टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी अड्डामा एक कार्यक्रमका बीच विदाइ गरेका छन् ।
विदाइ अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले प्रधान सेनापति प्रभुराम शर्माको अभिप्राय अनुरुप सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई उत्कृष्ट खेल प्रदर्शनका साथै उच्च अनुशासन कायम गर्न निर्देशन दिए ।
डुरान्ड कपको १३२औं संस्करणमा त्रिभुवन आर्मी सहित २४ टोलीको सहभागिता रहनेछ । नेपाली टोलीले पहिलो पटक अवसर पाएको हो । आर्मीले अगस्ट ९ मा दिल्ली एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी आर्मीले १४ अगस्ट १४ मा चेन्नाई एफसी र अगस्ट २२ मा हैदराबाद एफसीको समाना गर्नेछ ।
भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा विदेश टोलीका रुपमा त्रिभुवन आर्मीसँगै बंगलादेश आर्मीले सहभागिता जनाउँदै छ । प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउने छन् ।