डेंगी प्रकोप तीव्र

धरानमा थप पाँच जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सुनसरी ।

पछिल्लो समय तीव्र रुपमा फैलिएको डेंगीको संक्रमणबाट धरानमा थप ५ जनाको ज्यान गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानको अनुसार डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको ज्यान गएको हो। डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । तीमध्ये उदयपुरको कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो । यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो ।

उनका अनुसार डेंगी संक्रमण भएर उपचारका लागि आउने बिरामी डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा चाप दिनदिनै बढेको छ । डेंगी क्लिनिकमा हालसम्म १ हजार ६ सय १६ जनाको जाँच गर्दा १ हजार २ सय ९८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार मात्र १ सय ४९ जनाको जाँच गर्दा १ सय १७ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

  • १२ श्रावण २०८०, शुक्रबार १६:५५ प्रकाशित